Thursday, २२ October २०२६
प्रदेश

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा गण्डकीका चार नेतृ विजयी

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा गण्डकीका चार नेतृ विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा गण्डकी प्रदेशका चार जना नेतृ निर्वाचित भएका छन्। निर्वाचित हुनेमा स्याङ्जाकी कल्पना तिवारी, तनहुँकी चिनु पोखरेल, कास्कीकी लक्ष्मी पाण्डे र पर्वतकी मुना भुसाल रहेका छन् ।

महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्थाअनुसार भएको निर्वाचनमा गण्डकी प्रदेशबाट चार नेतृले सफलता हासिल गरेका हुन्। गण्डकी प्रदेशसभा सदस्यसमेत रहेकी कल्पना तिवारीसहित चार नेतृ केन्द्रीय सदस्यमा निर्वाचित हुँदा सोही पदमा प्रतिस्पर्धा गरेका बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा र पोखराकी नम्रता बराल भने पराजित भएका छन् ।

महिला खुलातर्फ १५ पदका लागि ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। जारी मतगणनाबाट सार्वजनिक परिणामअनुसार वासना थापाले सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेकी छन्। उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो र निमा गिरी ३ हजार ९०६ मतसहित तेस्रो स्थानमा निर्वाचित भएका छन् ।

त्यस्तै, कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा विजयी भएका छन्। चर्चित लोकगायिका तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापामगर पनि महिला खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

प्राप्त मतपरिणामअनुसार अनिता देवकोटाले २ हजार ८५३, विनिता खड्काले २ हजार ८६६, रीता सेन ओलीले २ हजार ७००, सृजना अधिकारीले २ हजार ६५८, मुना भुसालले २ हजार ५१४ र गीता सत्यालले २ हजार ४२० मत प्राप्त गरेका छन् ।

यसैगरी, स्याङ्जाकी कल्पना तिवारीले २ हजार ३६३, रीता थापामगरले २ हजार ३०८, गंगा दाहालले २ हजार २९८ र उमा दाहालले २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका छन्। तनहुँकी चिनु पोखरेल पनि निर्वाचित हुने नेतृमध्ये छिन् ।

निर्वाचनमा विनिता खड्काले २ हजार ८६६ मत प्राप्त गरे पनि उनीमाथि मुद्दा विचाराधीन रहेकाले निर्वाचन समितिले उनको विजय घोषणालाई रोकिराखेको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि पदाधिकारीसहित विभिन्न समावेशी समूह र खुलातर्फको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।