Thursday, २२ October २०२६
प्रदेश

कास्कीमा ‘अपरेसन ३६५’ अन्तर्गत ८९८ मोटरसाइकल कारबाहीमा

कास्कीमा ‘अपरेसन ३६५’ अन्तर्गत ८९८ मोटरसाइकल कारबाहीमा

कास्की प्रहरीले मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने तथा सडकमा उच्छृङ्खल गतिविधि गर्नेविरुद्ध सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत एक वर्षमा ८९८ वटा मोटरसाइकलमाथि कारबाही गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले २०८२ असोज २७ गतेदेखि सुरु गरेको अभियानको ३६५ दिन पूरा हुँदा ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये २९ जनाविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी कानुनी कारबाही गरिएको प्रहरीले जनाएको छ। अन्यलाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाइएको थियो ।

प्रहरीका अनुसार कारबाहीमा परेका मोटरसाइकलमध्ये ३६७ वटालाई पटक–पटक नियम उल्लङ्घन गरेको पाइएपछि यातायात व्यवस्था कार्यालयमार्फत कारबाही गरिएको थियो। अन्य मोटरसाइकललाई ट्राफिक जरिवाना गरी छाडिएको थियो ।

मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, आगोका झिल्का निकाल्ने, सडकमा मोटरसाइकल उडाउने तथा होहल्ला गर्दै हिँड्ने गतिविधिबाट ध्वनि प्रदूषण बढ्नुका साथै शान्ति सुरक्षामा समेत असर परेको जनगुनासो आएपछि प्रहरीले अभियान सुरु गरेको हो ।

कारबाहीमा परेका मोटरसाइकललाई प्रहरीको रोहबरमा मेकानिक बोलाएर पुरानै स्वरूपमा फर्काएपछि आगामी दिनमा त्यस्ता गतिविधि नगर्ने सर्तमा छाडिएको प्रहरीले जनाएको छ ।

यस्ता गतिविधिले बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा बिरामीलाई मानसिक र शारीरिक असर पुर्‍याउनुका साथै अस्पतालमा उपचाररत व्यक्तिसमेत प्रभावित हुने भएकाले सवारीधनीलाई मोटरसाइकलको स्वरूप परिवर्तन नगर्न प्रहरीले आग्रह गरेको छ ।

त्यस्तै, ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकलाई पनि सवारीसाधनको स्वरूप परिवर्तन गर्ने कार्य नगर्न र नगराउन प्रहरीले अनुरोध गरेको छ ।

नागरिकबाट अभियानलाई निरन्तरता दिन सुझाव आएको जनाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनि प्रदूषण र सडकमा हुने उच्छृङ्खल गतिविधि नियन्त्रणका लागि ‘अपरेसन ३६५’ लाई निरन्तरता दिने जनाएको छ ।