Thursday, २२ October २०२६
प्रदेश

पोखराको पृथ्वीचोकबाट लागूऔषधसहित दुईजना पक्राउ

पोखराको पृथ्वीचोकबाट लागूऔषधसहित दुईजना पक्राउ
कास्की प्रहरीले पोखराको पृथ्वीचोकबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज २६ गते साँझ करिब ७ बजे पोखरा महानगरपालिका–९ पृथ्वीचोक बसपार्क क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आशिष गुरुङलाई पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका–९ पृथ्वीचोक निवासी २९ वर्षीय गुरुङको साथबाट डाइजेपामका ६, बुप्रेनोर्फिनका ७ र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १० गरी २३ एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा गुरुङले उक्त लागूऔषध पोखरा–९ कृष्णटोल निवासी १९ वर्षीया मुस्कान लामाबाट खरिद गरेको बताएपछि प्रहरीले लामाको घरकोठामा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा लामाको कोठाबाट डाइजेपाम, बुप्रेनोर्फिन र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १६–१६ एम्पुल गरी थप ४८ एम्पुल लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।