गुल्मीमा जीप दुर्घटना : जिल्ला समन्वय समिति स्याङ्जाका पूर्वउपप्रमुख दिलीप बगालेसहित ६ जनाको मृत्यु
गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
साेमबार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जिल्ला समन्वय समिति स्याङ्जाका पूर्वउपप्रमुख दिलीपकुमार बगालेसहित ६ जनाको मृत्यु भएको छ भने, ३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा नेकपा एमालेका नेता एंवम् जिल्ला समन्वय समितिका पूर्वउपप्रमुख वालिङ नगरपालिका-२ का ६७ वर्षिय बगाले, निता बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सोही ठाउँकी सिता पाण्डे तथा सिरकोट घर भई हाल बुटवलको खैरेनीमा बस्दै आएका कुलानन्द पाण्डे रहेका छन् । निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको हाे ।
दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् ।
घाइते छविलाल पाण्डेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रेफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ । गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीबाट थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको छ । दुवैको अवस्था मध्यम रहेको जनाइएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनायाे ।
