समाचार

‘संविधान जति राम्रो भए पनि इमानदार नभए कागजको खोस्टो बन्छ’ : प्रधानमन्त्री शाह

शेयर 𝕏
Advertisement

प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको प्रभावकारी कार्यान्वयनका लागि इमानदार र निरन्तर काम आवश्यक रहेको बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद र असमानताको अन्त्य, विकास, समृद्धि तथा सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।

“संविधान जति राम्रो भए पनि, त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो कागजको खोस्टो बन्छ,” उनले भने, “यो सुरुवात हो, अन्त्य होइन।”

प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसविरुद्ध लड्ने हातहरू बलियो र धेरै हुँदै गएको बताए। विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै उनले सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनयन्त्रमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई अघि बढाएको बताए।

“सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौँ,” प्रधानमन्त्री शाहले भने।

संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न संघीय सरकार प्रतिबद्ध रहेको उनले बताए।

प्रधानमन्त्री शाहले सरकार परम्परागत विकासको बाटोमा मात्र सीमित नरहने पनि बताए। कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई अघि बढाउँदै नवप्रवर्तन र स्टार्टअपमार्फत ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।

डिजिटल सुशासन ब्लुप्रिन्टअनुसार राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणलाई त्यसको आधारका रूपमा अघि बढाइने बताउँदै उनले युवाले सडकमा उठाएको सुशासनको माग प्रविधिको प्रयोगबाट समेत सम्बोधन गरिने बताए।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालैको रसुवा–भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी र आम नागरिकप्रति आभार व्यक्त गरे।

नेपाल उच्च विपद् जोखिममा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद् आइसकेपछि मात्र नभई पूर्वतयारीमै केन्द्रित हुनुपर्ने बताए। जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्राथमिकता दिँदै विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने उनले बताए।

संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधानको वास्तविक कार्यान्वयन नागरिकको दैनिक जीवनमा देखिनुपर्ने प्रधानमन्त्री शाहको भनाइ थियो।

“संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ—हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट,” उनले भने।

उनले जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको अपेक्षा गरेको भन्दै सरकारका हरेक कदम ती आकांक्षा पूरा गर्न केन्द्रित रहने बताए। साथै संविधानप्रतिको निष्ठा र यसको पालनामा सरकार पूर्ण प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले भने, “शहीदहरूको रगतले लेखेको संविधान, हामी कामले पूरा गर्छौँ।”

Advertisement
लेखक परिचय

प्रतिपत्र

प्रतिपत्रका लेखकद्वारा प्रकाशित समाचार तथा सामग्री।

सबै समाचार हेर्नुहोस् →