समाचार

संविधानको समीक्षा भुइँ मान्छेलाई केन्द्रमा राखेर गर्नुपर्छ- लामिछाने

शेयर 𝕏
Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका हुन्।

उनले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको उल्लेख गरेका छन्। लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बनेपछि मात्रै पुष्टि हुने उनको भनाइ छ।

लामिछानेले रास्वपाले सामाजिक लोकतन्त्रमार्फत नागरिकको मुहारमा खुसी र समाजमा न्याय स्थापित गर्ने अठोट गरेको बताएका छन्।

संविधान एक जीवन्त दस्तावेज भएको उल्लेख गर्दै उनले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसको अन्तर्वस्तु परिष्कृत र संशोधन हुन सक्ने बताएका छन्। संविधानमै रहेको व्यवस्थाले समीक्षा मागेको भन्दै उनले अबको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्नेमा जोड दिएका छन्।

उनले बेथिति र कमजोरी सच्याउँदै लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन संविधान दिवस भएको बताएका छन्।

‘बलियो राज्य भनेको बलिया संस्था हुन्’ भन्दै लामिछानेले संविधान दिवसले राजनीतिक शक्ति, राज्यका अंग र आम नागरिकलाई आ–आफ्नो स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरणा देओस् भन्ने शुभकामना दिएका छन्।

लामिछानेले संविधान निर्माण तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकमा संविधान दिवसको शुभकामना व्यक्त गरेका छन्।

Advertisement
लेखक परिचय

प्रतिपत्र

प्रतिपत्रका लेखकद्वारा प्रकाशित समाचार तथा सामग्री।

सबै समाचार हेर्नुहोस् →